काठमाडौं— सप्तरीको तिरहुत गाउँपालिकाबाट हराइरहेका चार जना बालबालिका सोमबार सशस्त्र प्रहरीले सकुशल फेला पारेको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस भारदहको टोलीले उनीहरूलाई सप्तरीको हनुमाननगर कंकालिनीमाई नगरपालिका–१ स्थित कोशी ब्यारेज क्षेत्रबाट फेला पारेको हो।
फेला पर्ने बालबालिकामा तिरहुत गाउँपालिका–३ गोइठीका अन्दाजी ७ वर्षीया श्रिष्ठी कुमारी सरदार, ७ वर्षीया कुमारी सरदार, ८ वर्षीया आरोसी सरदार र ६ वर्षीया कृष्ण सरदार रहेका छन्।
गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीले शंकास्पद अवस्थामा देखेपछि सोधपुछ गर्दा बालबालिकाले आफ्नो ठेगाना र यात्रा उद्देश्य स्पष्ट रूपमा बताउन नसकेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको थियो।
आफैं घरबाट निस्किएको र अलपत्र अवस्थामा भेटिएका ती बालबालिकालाई नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको उपस्थितिमा अभिभावकको जिम्मा लगाई पठाइएको छ। प्रारम्भिक अनुमानअनुसार बालबालिकालाई कसैले ललाई–फकाई ल्याएको हुनसक्ने आशंका गरिएको छ।






































