काठमाडौं— नागरिकता विहीन संघर्ष समिति, नेपालले नागरिकता नियमावली तत्काल जारी गर्न र आमाको नामबाट नागरिकता प्रदान गर्नुपर्ने माग गर्दै आन्दोलन तीव्र पारेको छ। समितिले सोमबार काठमाडौंको माइतीघर मण्डलामा धर्ना तथा प्रदर्शन गरेको हो।
प्रदर्शनकारीहरूले ‘राष्ट्रिय आमा कहाँ छौं? हामी पीडित माइतीघरमा छौं’ भन्ने नारा लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूको भनाइमा नागरिकता नियमावली नहुँदा हजारौं नागरिक अधिकारबाट वञ्चित भइरहेका छन्।
समितिले आमाको नामबाट नागरिकता पाउने संवैधानिक अधिकार कार्यान्वयन गर्न ढिलाइ भइरहेको भन्दै सरकारको आलोचना गरेको छ। माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी पनि उनीहरूले दिएका छन्।






































