कञ्चनपुर— जिल्लाको कारागारमा दुई समूहबीच भएको झडपको अनुसन्धान गर्न छानबिन समिति बनाइएको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) लक्ष्मण ढकालले तीन सदस्यीय छानबिन समिति बनाएका हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
‘समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहरा र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्याय सदस्य छन्,’ उनले भने ।
छानबिन समितिलाई सात दिनको समय दिइएको ढकालले बताए ।
शुक्रबार काराकारमा रहेका कैदीबन्दीबीच झडप हुँदा आठ जना घाइते भएका थिए ।
कारागारका नाइके र चौकीदारसँग अन्य कैदीबन्दीको झडप भएको थियो । नाइके र चौकीदार छनोट प्रक्रिया पारदर्शी नभएको र कैदीबन्दीलाई गर्ने व्यवहारमा समानता नभएको आरोप उनीहरूको छ ।






































