एजेन्सी । रुस र चीनबीच ७५ वर्ष लामो कूटनीतिक सम्बन्धको इतिहासमा यो नै यस्तो समय हो, जतिबेला दुई देशबीचको सम्बन्ध निकै घनिष्ट छ । तर, यहीबेला रुसको गुप्तचर निकाय फेडेरल सेक्युरिटी सर्भिस (एफएसबी)को आठ पन्ने रिपोर्ट सार्वजनिक भएको छ । जसले कुनै पनि बेला दुई देशबीच भीषण युद्धको खतरा औँल्याउँछ ।

जसमा रुसको साइबेरियाई इलाका भ्लादिभोस्तोक र अमुर ओब्लास्टको एउटा टापुमाथि चीनले आँखा लगाइरहेको उल्लेख छ । जुन भूराजनीतिक हिसाबले निकै महत्त्वपूर्ण क्षेत्र मानिन्छ । यो त्यही इलाका हो, जुन चीन कमजोर भएको र पश्चिमा आक्रमण झेलिरहेका बेला रुसले असमान सन्धि गरेर कब्जामा लिएको थियो । 

रुसको गुप्तचर निकाय एफएसबीको चुहिएको आठ पन्नाको एउटा रिपोर्टमा चीनले रुसका दुई इलाकामाथि आफ्नो दाबी बलियो बनाउने कोसिस गरिरहेको उल्लेख छ । रुसले युक्रेनमाथि २४ फेब्रुअरी २०२२ मा पूर्णस्तरको आक्रमण सुरु गरेको केही समयपछि ४ सेप्टेबरमा बेइजिङमा शीतकालीन ओलम्पिक उद्घाटन कार्यक्रममा सहभागी हुन चीन आएका थिए ।

यही भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँगको शिखर वार्तापछि पुटिनले आफूहरूबीच सीमाविहीन साझेदारी रहेको घोषणा गरेका थिए । तर, एफएसबीको दस्तावेजले सी र पुटिनबीच बाहिरी रूपमा जति न्यानो सम्बन्ध देखाउन खोजे पनि बेइजिङसँग पूर्ण विश्वास नरहेको र कुनै पनि बेला रुसी जमिन लिनसक्ने डर कायमै रहेको देखाउँछ ।

अमेरिकी पत्रिका न्युजविकका अनुसार चीन सरकारले सीमा क्षेत्रमा कृषियोग्य जमिन बढाइरहेको छ भने लामो समयदेखि लिजमा लिएर खेती गर्ने क्रम पनि बढेको छ । यी दुवै इलाका चीनको किङ्ग साम्राज्यका हिस्सा हुन् । करिब १५० वर्षअघि १९औँ शताब्दीमा किङ्ग राजवंशले यी दुवै इलाका रुसी साम्राज्यलाई बुझाउनुपरेको थियो । त्यसैले चीनका गतिविधिले फेरि एकपटक यी इलाकामाथि आफ्नो दाबी बढाएको आशंका बढेको हो ।

१९औँ शताब्दीमा चीन असाध्यै कमजोर बनेको थियो । अफिम युद्धमा ब्रिटेन र फ्रान्ससँग चीन पराजित भएको थियो । यही समयमा रुसलाई प्रशान्त महासागरसम्म पहुँच चाहिएको थियो । प्रशान्त महासागरमा पहुँच बनाउन रुसले चीनको भूमि प्रयोग गर्नुपथ्र्यो । त्यसैले चीन कमजोर भएको र बेलायत र फ्रान्सले हमला गरिरहेका बेला यो जमिन नदिए रुसले पश्चिमा देशलाई सहयोग गर्ने धम्की दिएर सन् १८५८ मा चीनले ऐगुन सन्धि गराएर यो अमुर ओब्लास्ट र चीनमा रहेको अमुर नदी क्षेत्रमा रहेको द्वीप कब्जा गर्‍यो । जुन सन्धिअनुसार अमुर नदीको उत्तरमा रहेको ठूलो क्षेत्र रुसले प्राप्त गरेको थियो ।

सन् १८६० मा चीनले पश्चिमा देशसँग अर्को युद्ध हार्‍यो । यही समयमा रुसले फेरि दबाब बढायो । युद्ध हारिरहेका बेला रुसले पनि पश्चिमी देशलाई साथ दिने डरका कारण बाध्यतावश पेकिङ्ग सन्धिमा हस्ताक्षर गर्‍यो । यो सन्धिपछि रुसले भ्लादिभोस्तोक र यस आसपासको क्षेत्र आफ्नो देशमा मिलायो । चीनका राजाको कमजोरी र प्रशान्त क्षेत्रसँग चिनियाँ भूभाग कब्जा गर्ने पश्चिमा देशको रणनीतिबीच शक्तिशाली रुसले फाइदा उठायो । रुसले यो क्षेत्रमा तत्कालै नयाँ प्रशासन र १८६० मा भ्लादिभोस्तोक शहर बसायो । यो रूसको सुदूर पूर्वको प्रमुख बन्दरगाह शहर हो ।

आज कुनै न कुनै रूपमा यो क्षेत्र फिर्ता लिन चीनले तयारी गरिरहेको आशंका रुसी गुप्तचर निकायले गरेको हो । रुसका सुरक्षा एजेन्सीले हालै राष्ट्रपति पुटिनलाई बुझाइएको एक रिपोर्टमा पनि तत्कालै नभए पनि चीनले कुनै न कुनै दिन यी क्षेत्र फिर्ता लिनक्ने दाबी गरिएको छ । दस्तावेजमा दुई देशका गुप्तचर एजेन्सीबीच गुप्त संघर्ष चलिरहेको उल्लेख छ । यति मात्रै होइन, आठ पेजको दस्तावेजमा चीनलाई दुश्मन र रुसको सुरक्षाका लागि खतराका रूपमा समेत उल्लेख गरिएको छ । यतिबेला जुन इलाका चीनले कब्जा गर्नसक्ने डर रुसलाई छ, त्यो इलाकामा निकै कम रुसी जनताको बसोबास छ भने त्यहाँ कुनै ठूलो औद्योगिक क्षेत्रसमेत छैनन् ।

जबकि, उत्तरी चीनको यही सीमा क्षेत्रमा ठूलो चिनियाँ जनसंख्या छ । यसकारण पनि चीनले यो क्षेत्रमा जनसांख्यिक रूपमा समेत हस्तक्षेप गर्नसक्ने डर रुसी गुप्तचर दस्तावेजमा उल्लेख छ । यद्यपि, मिति उल्लेख नभएका यी दस्तावेज युक्रेन युद्ध सुरु भएको अर्को वर्ष अर्थात् २०२३ का भएको अनुमान गरिएको छ । जबकि, यतिबेला रुस र चीनबीच निकै मित्रतापूर्ण सम्बन्ध देखिन्छ ।

अमेरिकाका लागि चिनियाँ दूतावासका प्रवक्ता लिउ पेङ्युले भने न्युजवीकसँगको प्रतिक्रियामा भनेका छन्, ‘पछिल्ला वर्षमा चीन–रूस सम्बन्ध दुवै पक्षको संयुक्त प्रयाससँगै चीन–रूस सम्बन्ध स्थिर, स्वस्थ र उच्चस्तरमा छ । दीर्घकालीन छिमेकी मित्रता, मैत्री, पारस्परिक लाभ, सहयोग र जितजितको परिणाम दुई देशबीचको सम्बन्धको विशिष्ट विशेषता बनेका छन् ।’

चीनले सन् २०२३ मा नयाँ नक्सा जारी गरेको थियो । जसमा भारतको अरुणाचलदेखि केही रुसको भ्लादिभोस्तोकसमेत सामेल गरिएको थियो । यति मात्रै होइन, यी क्षेत्रका नामसमेत चिनियाँ भाषामा राख्न निर्देशन दिइएको थियो । अहिले रुसले अमुर ओब्लास्ट र भ्लादिभोस्तोक नाम राखेको क्षेत्रलाई त्यसबेला चिनियाँ भाषामा ‘हेशनबाई’ भनिन्थ्यो । चिनियाँ नक्सामा देखाइएको उसुरी र अमुर नदीको संगमस्थलमा रहेको एउटा टापुलाई दिएर लामो समयदेखि दुई देशबीच विवाद थियो । दुवै देशले सन् २००८ मा एक सन्धि गरेर यो टापुलाई दुई भागमा बाँडेका थिए ।

रुस र चीनबीच करिब ४२ सय किलोमिटर लामो सीमा छ । दुई देशबीच दर्जनौँपटक सीमा विवाद भएको छ । माओ नेतृत्वको चीन र निकिता ख्रुश्चेभ नेतृत्वको रुसबीच सीमालाई लिएर सन् १९६० को दशकमा युद्ध नै चलेको थियो । सन् १९९० र २००० को दशकमा रुस र चीनबीच सीमा विवाद समाधान गर्न केही सम्झौता भए ।

चीनका कट्टर राष्ट्रवादीहरूले अक्सर रुसले सन्धिमार्फत कब्जा गरेका क्षेत्र फिर्ता लिनुपर्ने मत राख्छन् । तर, बेइजिङले आधिकारिक रूपमा रुसी कब्जामा रहेको जमिनबारे मौनता प्रदर्शन गर्दै आएको छ । चीन सरकारले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मजबुत सम्बन्धमा जोड दिँदै आएको छ ।

युक्रेन युद्धपछि रुसमाथि अमेरिका र युरोपले कडा अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाए । यही समयमा चीनले रुसबाट सस्तोमा ऊर्जा खरिद गर्‍यो । बदलामा रुसले व्यापार बढाएर र युआनमा भुक्तानी लिएर आर्थिक दबाब कम गर्‍यो । दुवै देशले प्रशान्त क्षेत्रमा संयुक्त सैन्य अभ्यास पनि बढाएका छन् । यसलाई अमेरिका र उसका सहयोगी देशले चुनौती थपिएको ठानेका छन् । पुटिन र सीबीच पछिल्लो केही वर्षदेखि निकट सम्बन्ध छ । गत महिना मात्र उनीहरूबीच मस्कोमा भएको वार्तापछि साझेदारीलाई थप गहिरो बनाउने प्रतिबद्धता जनाउँदै संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका थिए । तर, रुसभित्रै भने चीनको प्रभाव बढ्ने र उसको जुनियर पार्टनर बन्ने चिन्ता देखिन्छ ।