कास्की— पोखरामा एक वृद्धाको हत्या गरेको आरोपमा उनका नाति पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३१ बेगनास गाउँकी ७२ वर्षीया दालकुमारी परियारको कुटपिटबाट मृत्यु भएको घटनामा उनका २१ वर्षीय नाति आशिष परियारलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आशिषले कुटपिट गर्दा घटनास्थलमै दालकुमारीको मृत्यु भएको भन्ने सूचना प्राप्त भएपछि सीआरभी अमरसिंहबाट खटिएको प्रहरी टोलीले उनलाई पोखरा महानगरपालिका–९ स्थित पृथ्वी चोकबाट पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।