भैरहवा— पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा आउने तयारीमा रहे पनि विमान उड्न नसक्दा काठमाडौंमै रोकिएका छन् ।
थुनामुक्त प्रक्रिया पूरा गर्नका लागि उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । तर, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा बाक्लो हुस्सु लागेकाले उडान तथा अवतरण अवरुद्ध हुँदा उनी भैरहवा जान सकेका छैनन्।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो । आदेश ढिलो आएको र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले उनी आज रुपन्देही पुग्ने तयारीमा थिए ।
हाल काठमाडौंस्थित नख्खु कारागारमा रहेका लामिछानेलाई विमानमार्फत भैरहवा ल्याई जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराउने तयारी गरिएको छ । बिहान करिब ९ बजे उनलाई विमानस्थल पुर्याइए पनि मौसम प्रतिकूलताका कारण उडान हुन सकेन ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बाक्लो हुस्सुका कारण हालसम्म उडान बन्द रहेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए । मौसममा सुधार आएपछि उडान सुरु हुने भए पनि केही समय लाग्न सक्ने उनले बताए ।





































