विराटनगर— मोरङको सुनवर्षी नगरपालिका–४ कासीजाममा गएराति मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार भित्री सडक हुँदै गोलगाउँबाट कासीजामतर्फ जाँदै गरेको मे ११ प १४० नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई गएराति करिब ८ः१५ बजे ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका साइकल यात्री सुनवर्षी–४ का ६२ वर्षीय जयरामप्रसाद दासलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । तर अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले राति ८ः४५ बजे उनलाई मृत घोषणा गरेका मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी–४ का २७ वर्षीय अकलेशकुमार मण्डलसमेत घाइते भएका छन् । उनको अवस्था मध्यम रहेकाले थप उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले मोटरसाइकल र साइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।