काठमाडौँ । नेकपा एमालेको अध्यक्ष बन्न भारी मतान्तरले विजयी भएका केपी शर्मा ओली केन्द्रीय सदस्यमा भने पराजित भएका छन् । एमालेको विधानअनुसार पदाधिकारीमा उठ्नेले केन्द्रीय सदस्यमा पनि उठ्न सकिन्छ ।

अध्यक्षमा १ हजार ६ सय ६३ मत ल्याएर विजयी भएका ओलीले सदस्यमा भने ९ सय ७९ मत पाएर पराजित भए । एमालेको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार खुला केन्द्रीय सदस्यको २८ औँ नम्बरमा रहेका ओली पराजित भएको देखिन्छ ।

रोचक कुरा अध्यक्षमा ५ सय ६४ मत ल्याएर पराजित भएका ईश्वर पोखरेल केन्द्रीय सदस्यमा भने विजयी भएका छन् । पोखरेल खुला केन्द्रीय सदस्यको ९ नम्बरमा रहेर विजयी भएको एमालेको निर्वाचन आयोगले देखाएको छ । पोखरेलको मत १ हजार ८८ आएको छ ।