झापा— जङ्गली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान करिब ६ः३० बजे मेचीनगर नगरपालिका–४ बाहुण्डाँगीस्थित खड्का डाँडामा उक्त घटना भएको हो।

प्रहरीका अनुसार नेपालबाट भारततर्फ गइरहेको जङ्गली हात्तीसँग जम्काभेट हुँदा आक्रमणमा परेर अन्दाजी ५०–५५ वर्ष उमेरका एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो। मृतक भारतीय नागरिक जस्तो देखिए पनि हालसम्म उनको नाम, थर र ठेगाना खुल्न सकेको छैन।

बाहुण्डाँगी क्षेत्रमा मागीखाने गर्दै हिँड्ने व्यक्ति भएको प्रारम्भिक जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजन लामाले बताए। घटनाबारे भारतीय पक्षलाई पनि जानकारी गराइ सकिएको प्रहरीले जनाएको छ।