काठमाडौं— नेकपा एमालेको ११औँ महाधिवेशनको केही समयमै मतगणना सुरु हुने भएको छ । मतदान सकिएसँगै विद्युतीय भोटिङ मेसिनबाट चिप्स संकलनको काम सम्पन्न भइसकेको एमाले निर्वाचन आयोगले जानकारी दिएको छ ।
निर्वाचन आयोगका अनुसार चिप्स संकलनको काम सकिएसँगै निर्वाचन समितिको बैठक बसेपछि मतगणना सुरु हुनेछ।
महाधिवेशनमा कुल २,२६३ प्रतिनिधि मतदाता रहेका थिए, जसमा २,२२७ मत खसेको छ । बाँकी ३६ प्रतिनिधिले मतदानमा भाग लिएका थिएनन् ।
विद्युतीय प्रणाली प्रयोग भएकाले मतदानमा समय लागे पनि मतगणनामा धेरै समय नलाग्ने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले करिब ११ बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् भने महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा जारी छ।






































