काठमाडौं— नेकपा एमालेको महाधिवेशनमा महिला र पुरुष प्रतिनिधिहरूको समान सहभागिता देखिएको छ । मतदान प्रक्रियामा महिला र पुरुष नेता कार्यकर्ता एउटै लाइनमा उभिएर सहभागिता जनाइरहेका छन् ।
काठमाडौं जिल्ला सचिवालय सदस्य तथा एमाले महाधिवेशन प्रतिनिधि सरस्वती कार्कीले आफू कुनै पनि पदका लागि उम्मेदवार नभए पनि निर्वाचित नेतृत्वलाई साथ र समर्थन गर्न महाधिवेशनमा आएको बताइन् । उनले भोटिङ प्रणालीबारे जानकारी दिँदै, मतदान मेसिन पहिले पनि प्रयोग हुँदै आएको र भोट हाल्न कुनै समस्या नहुने स्पष्ट पारिन् ।
प्रतिनिधिहरूलाई मतदानको अभ्यास तीन दिन अगाडिनै गराइसकिएको भन्दै, कसैलाई कठिनाइ परे आवश्यक सहयोग गर्न सकिने उनको भनाइ छ । महाधिवेशनमा महिलाको उल्लेखनीय सहभागिता रहेको उल्लेख गर्दै उनले महिला–पुरुष छुट्टाछुट्टै होइन, एउटै ठाउँमा उभिएर सकारात्मक सोचका साथ काम गर्नुपर्नेमा जोड दिइन् ।
‘महिला र पुरुष एउटै रथका दुई पाङ्ग्रा जस्तै हुन्, मिलेर अघि बढ्नुपर्छ,’ भन्दै उनले समावेशी र समानताको सन्देश दिइन् ।
त्यसैगरी, सुनसरीकी एमाले प्रतिनिधि विष्णु शर्माले पनि महिला–पुरुष एउटै लाइनमा बसेर मतदान प्रक्रियामा सहभागी भइरहेको बताइन् । उनले राजनीति गर्ने महिला–पुरुषले यस्ता सामान्य विषयलाई सहज रूपमा लिनुपर्ने उल्लेख गर्दै, हिजो हुने भनिएको मतदान आज हुँदा पनि दुःख मान्नुपर्ने कुरा नभएको बताइन् ।
महिला र पुरुषबीच सम्मान र सहकार्य आवश्यक रहेको धारणा राख्दै उनले सोचमा परिवर्तन आवश्यक रहेको बताइन् । ‘सबै ठाउँमा महिला र पुरुष छुट्टै बस्नुपर्छ भन्ने छैन, आपसी सम्मानका साथ अघि बढे समस्या हुँदैन,’ उनले भनिन् ।
महाधिवेशनको यो दृश्यले महिला पुरुष समानता व्यवहारमै सम्भव छ भन्ने सन्देश दिएको छ । राजनीति मात्र होइन, समाजका सबै क्षेत्रमा महिला र पुरुष मिलेर अघि बढ्दा नै समृद्ध र समावेशी भविष्य निर्माण हुने सशक्त उदाहरणका रूपमा एमाले महाधिवेशन प्रस्तुत भएको छ ।






































