काठमाडौं— नेकपा एमालेले ११औँ महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि तय गरिएको निर्वाचन कार्यतालिका संशोधन गरेको छ। केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारी दर्तासहितका विभिन्न समयतालिकामा परिवर्तन गरिएको जानकारी दिएको हो।

आयोगका सचिव डा. कुन्साङ लामाका अनुसार संशोधित कार्यतालिका बमोजिम आज दिउँसो १ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारी दरखास्त दर्ता गरिनेछ। यसअघि उम्मेदवारी दर्ता बिहान साढे १० बजेदेखि साढे १ बजेसम्मका लागि तोकिएको थियो।

नयाँ तालिकाअनुसार आज दिउँसो ४ बजे उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिनेछ। त्यसपछि साँझ ५ बजे उजुरीमाथि छानबिन तथा निर्णय हुने छ भने ५ देखि ६ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिइएको छ।

उम्मेदवारको अन्तिम नामावली साँझ साढे ६ बजे प्रकाशन गरिने आयोगले जनाएको छ। आयोगका अनुसार मतदान भने भोलि बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ।