काठमाडौं । सामाजिक सञ्जालमा चर्चित पत्रकार राजीव खत्री रास्वपामा भित्रिने भएका छन् । उनी पुस २ मा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
खत्रीले पत्रकारिता पेशा नै त्यागेर राजनीतितर्फ मोडिएका हुन् । आफू कार्यरत न्यूज २४ टिभीबाट अलग भएको उनले बताए । खत्रीले भने, ‘म आजबाट पत्रकारितामा छैन । न्यूज २४ टेलिभिजनबाट राजीनामा दिएको छु ।’
रास्वपामा आएपश्चात् कुन पदमा रहने भन्ने निधो भइनसकेको खत्रीले जनाए । यद्यपि, आगामी आमनिर्वाचनमा भाग लिन सक्ने संकेत गरे । उनी प्रत्यक्षमा काठमाडौंबाटै चुनाव लड्न इच्छुक छन् । विगतदेखि नै उनले सामाजिक सञ्जालमा उनले रास्वपा र रवि लामिछानेप्रति सद्भाव देखाउँदै आएका थिए ।न्यूज २४ टेलिभिजनमा कार्यक्रम चलाउँदै आएका खत्रीले सटिक राजनीतिक टिप्पणीहरूका बलमा आफ्नो लोकप्रियता बढाइरहेका थिए । रास्वपा सभापति रवि लामिछानेसँग कारागारमै पटक-पटक छलफल पश्चात् उनी पार्टी प्रवेश गर्न तयार भएका हुन् ।
चर्चित युट्युबर भोजराज थापा पनि रास्वपा प्रवेश गर्ने चर्चा छ । उनी कहिले भित्रिने भन्ने साइत भने जुरिसकेको छैन ।






































