काभ्रे— काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–२ पात्लेगाउँमा यात्रुबाहक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटना आइतबार बिहान करिब ९ बजेको समयमा बीपी राजमार्गअन्तर्गत धुलिखेल–भकुण्डे खण्डमा भएको हो।
प्रहरीका अनुसार धुलिखेलबाट भकुण्डेतर्फ गइरहेको बा प्र ०१–००६ ख ४८०८ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ८२ वर्षीय पोत बहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक बेदनारायण श्रेष्ठले उक्त जानकारी दिएका छन्।
दुर्घटनापछि आक्रोशित स्थानीयले केही समय राजमार्ग अवरुद्ध गरेका थिए। प्रहरीका अनुसार पीडित परिवार तथा यातायात व्यवसायीसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको छ।
घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको छ।






































