ताप्लेजुङ— जेन जी आन्दोलनको भीडभाड र अव्यवस्थाको मौका छोप्दै केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदीलाई ताप्लेजुङ प्रहरीले समातेको छ।

पक्राउ परेका व्यक्ति मिक्वाखोला गाउँपालिका–१ का ३४ वर्षीय प्रदीप लुङ्वा (शंकर लिम्बू) रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। उनी काठमाडौंको बुढानिलकण्ठ–८ मा बसोबास गर्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जटाशंकर यादवका अनुसार, लुङ्वाले कर्तव्य ज्यान मुद्दामा अदालतबाट १० वर्षको कैद सजाय पाई सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथ देवलमा सजाय भुक्तान गरिरहेका बेला आन्दोलनको क्रममा फरार भएका हुन्।

प्रहरीले उनलाई फुङलिङ नगरपालिका–५ को वीरेन्द्रचोक क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा फेला पारेको निरीक्षक यादवले बताए।