काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक संघर्षको दुष्चक्रबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने बताएका छन् ।

नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्न राजनीतिक स्थायित्व र सुशासन पहिलो शर्त भएको पनि बताएका हुन् ।

उनले भ्रष्टाचारको अन्त्य गरी सुशासनका माध्यमबाट मुलुकको विकास गर्ने तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्नुपर्ने आजको आवश्यकता भएको उल्लेख गर्दै युवा पुस्ताको चाहना पनि यही नै भएको बताए ।

उनले मुलुकको विकास गर्ने तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यक रहेको स्पष्ट पारे ।

उनले राजनीतिक परिवर्तनपछिको जनचाहना भनेको शान्ति, स्थायित्व र विकास भएको बताउँदै सामाजिक न्यायसहितको समयानुकुल आर्थिक नीति र कार्यक्रम बनाएर मुलुकको आर्थिक विकासको सपना साकार पार्नु मूल दायित्व भएको बताए ।

राष्ट्रपति पौडेलले जनतालाई सार्वभौम बनाउन र उनीहका हक, अधिकार तथा स्वतन्त्रता सुनिश्चित गर्न प्रजातन्त्र सेनानीहरूले लोकतन्त्र स्थापना र पुनस्र्थापनाका सङघर्षहरूमा अविश्राम समर्पित भएको गर्विलो इतिहासको जगमा आज मुलुक उभिएको बताए ।

उनले भने, ‘मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको चरणसम्म आइपुग्नका लागि शहीद र प्रजातन्त्र सेनानीहरूले विगतमा पटक पटक गरेको कठोर सङ्घर्ष, त्याग र बलिदान सदैव स्तुत्य छ ।’

उनले लोकतान्त्रिक आदर्श, मूल्य मान्यता र निष्ठाका लागि प्रजातन्त्र सेनानीहरू सतत् र अनवरत क्रियाशील रहेको उल्लेख गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि प्रजातन्त्रका सेनानीहरूको खबरदारी र योगदानको आज पनि उत्तिकै खाँचो रहेको बताए ।