भक्तपुर— नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारी क्षेत्रमा अस्थायी संरचना निर्माणको काम तीव्र गतिमा चलिरहेको छ।
शनिबार भोली उद्घाटन हुने कार्यक्रमलाई लक्षित गर्दै मञ्च निर्माण, शौचालय, वरपरको आवागमन व्यवस्थापन तथा सहभागीहरूको बसोबासका लागि आवश्यक अस्थायी व्यवस्था जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको आयोजकहरूले बताएका छन्।
स्थलमा मञ्च सजावट, ध्वनि प्रणाली जडान, सुरक्षासम्बन्धी व्यवस्थापन तथा अन्य सहायक संरचना निर्माणमा दर्जनौँ मजदुर र प्राविधिक टोली खटिएका छन्।
पार्टीका विभिन्न तहका कार्यकर्ता तथा स्वयंसेवकहरू पनि स्थल व्यवस्थापनमा जुटिरहेका छन्। महाधिवेशनमा देशभरबाट ठूलो संख्यामा प्रतिनिधि, पर्यवेक्षक र अतिथिहरू सहभागी हुने अपेक्षा गरिएको छ।






































