विराटनगर—  प्रहरीले विराटनगरबाट १३१ ग्राम खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बिहीबार विराटनगर–४, नोबेल अस्पताल नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिहरूमा सुनसरी, हरिनगरा गाउँपालिका–७ का ५२ वर्षीय हबिब खाँ र हरिनगरा–४ का ३० वर्षीय इरसाद आलम रहेका छन्। हबिबको साथबाट १३१ ग्राम खैरो हेरोइन बरामद भएको डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।

प्रहरीले उनीहरूले प्रयोग गरेको को २७ प ६४८१ र बीआर १९ वाई ९५३ नम्बरको दुई मोटरसाइकल पनि बरामद गरेको छ। आलम भारतीय नम्बर प्लेटको मोटरसाइकलका चालक रहेको बताइएको छ।

दुवैजनामाथि विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।