उदयपुर— चौदण्डीगढी नगरपालिकाले नगरभित्रका अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो ब्ल्याङ्केट वितरण गरेको छ। बिहीबार आयोजित कार्यक्रममा नगर क्षेत्रका ६० जना अपाङ्गता भएका नागरिकले न्यानो कपडा स्वरूप ब्ल्याङ्केट प्राप्त गरेका हुन्।
नगरपालिकाको एक लाख रूपैयाँ सहयोगमा “चौदण्डीगढी अपाङ्गता सेवा संस्था” ले उक्त न्यानो ब्ल्याङ्केट वितरण कार्यक्रम सञ्चालन गरेको संस्थाका सचिव पुरुषोत्तम अधिकारीले जानकारी दिए। नगरका दसैँ वडाबाट ६/६ जना गरी छनोट भएका अति विपन्न तथा अपाङ्गता भएका व्यक्तिहरूलाई ब्ल्याङ्केट उपलब्ध गराइएको संस्थाका अध्यक्ष भूपाल पौडेलले बताए।
कार्यक्रममा ब्ल्याङ्केट हस्तान्तरण गर्दै उपप्रमुख मणिकादेवी दुलालले मौसम चिसिंदै गएपछि अपाङ्गता भएका तथा विपन्न परिवारका सदस्यलाई न्यानो सहयोग आवश्यक भएको उल्लेख गरिन्। उनका अनुसार, यस किसिमको सहयोगले उनीहरूको दैनिक जीवन सहज बनाउनुका साथै मनमा खुसी थप्ने विश्वास लिएको छ।
कार्यक्रममा वडा अध्यक्ष, स्थानीय प्रहरी प्रमुख, नगर अस्पतालका प्रमुखसहित विभिन्न सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो।






































