पाल्पा— नवलपरासीको अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको लु १ ज ३९०८ नम्बरको फोर्स जीप पाल्पाको निस्दी–४ मित्याल चिउरेबास नजिक दुर्घटनामा परेको छ। यात्रुलाई ओराल्न एकल फुक्सीमा रोकिएको जीप अचानक चिप्लिएर करिब ५०० मिटर तल खोल्सोतिर खसेको स्थानीयले बताएका छन्।

लेकबेसी यातायातको उक्त जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको प्रहरीको भनाइ छ । मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि जीपको छतबाट हाम फालेका घाइतेलाई निस्दी गाउँपालिकाको गाडीमार्फत उपचारका लागि अरुणखोला लगिएको छ। जीप धेरै तल खसेकाले उद्धार कार्य अझै चलिरहेको स्थानीयको भनाइ छ।

मित्याल प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको छ भने रामपुरबाट प्रहरी निरीक्षक र सेनाको टोली पनि उद्धारका लागि जाँदैछन्। घटनाबारे थप जानकारी संकलन भइरहेको अधिकारीहरूले बताएका छन्।