विराटनगर— झुम्का कारागारबाट फरार भएका लागुऔषध मुद्दाका थुनुवा अजित श्रेष्ठलाई मोरङ प्रहरीले सुन्दरहरैँचास्थित उनको घरमै गएर पक्राउ गरेको छ।
सुन्दरहरैँचा–६ का ३१ वर्षीय श्रेष्ठलाई लागुऔषधसम्बन्धी मुद्दामा जिल्ला अदालत सुनसरीले थुनामा राखेर पुर्पक्षका लागि आदेश जारी गरेको थियो। सोही आदेशअनुसार उनलाई गत असार ३१ गते झुम्का कारागार चलान गरिएको थियो।
जेनजी आन्दोलनको बेला उत्पन्न अव्यवस्थाको मौका छोप्दै उनी भदौ २४ गते कारागारबाट भाग्न सफल भएका थिए। फरार भएपछि लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले श्रेष्ठलाई घरमै घेराबन्दी गरी पक्राउ गरेको हो।
उनीलाई पक्राउपछि पुनः कारागारको जिम्मा लगाइएको मोरङ प्रहरीले जनाएको छ।






































