काठमाडौं— काठमाडौं महानगरपालिकाले शंखमूल पुलदेखि भीएस निकेतन क्षेत्रसम्म फैलिएको अवैध घर–टहरामाथि कडाइका साथ कारबाही प्रक्रिया अघि बढाएको छ। कामपाले सार्वजनिक सूचना जारी गर्दै ३ दिनभित्र आफ्नै खर्चमा संरचना भत्काउन घरधनीलाई निर्देशन दिएको हो। प्रारम्भिक आँकलनअनुसार करिब ५ सयभन्दा बढी स्थायी तथा अस्थायी संरचना रहेका छन्।
कामपा प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, यसअघि सात दिनको म्याद दिइए पनि नपुगेको ठानेर अन्तिम तीन दिनको पत्र पठाइएको हो। उनले आउँदो हप्ताबाट नै संरचना हटाउने काम सुरू हुने बताए। कामपालाई प्राप्त रिपोर्टअनुसार करिब एक हजार रोपनीमा सार्वजनिक जग्गा खोला किनारमा अतिक्रमण गरी निजी प्रयोगमा ल्याइएका छन्।
खुला ठाउँ संरक्षण अभियान कार्यान्वयन समितिका सदस्य–सचिव हरिश्चन्द्र लामिछानेका अनुसार, नापी–नक्साअनुसार जग्गा मिचिएकै हो कि होइन भन्ने छुट्टै जाँच शुक्रबारदेखि सुरू हुँदैछ। संरचना भएका व्यक्तिसँग लालपुर्जा, नापीनक्सा, कर चुक्ताको प्रमाण, स्वीकृत नक्सा तथा निर्माण सम्पन्न प्रमाणपत्र मागिनेछ। कानुन विपरीत देखिएमा संरचना तत्काल हटाइने बताइएको छ।
समितिले वडा ३१ र १० को समन्वयमा प्राविधिक टोली खटाइसकेको छ। खोला किनार आसपास २०–२० मिटरको मापदण्ड अनुसार चिह्न लगाइसकिएको पनि जानकारी गराइएको छ। प्रहरी बल प्रमुख पाण्डेले भने, “३ दिनभित्र आफैंले नहटाए, महानगरले बल प्रयोग गरेर हटाउनेछ, खर्च घरधनीकै हुनेछ।”
उक्त क्षेत्रमा रेस्टुरेन्ट, खाजाघर, ड्राइभिङ सेन्टरदेखि विभिन्न पसलसम्म सञ्चालनमा रहेका छन्। धेरै घरधनीले आफ्नो लालपुर्जाको क्षेत्रफलमा पक्की घर बनाए पनि त्यसबाहिर टहरा निर्माण गरी भाडामा दिने कार्य भइरहेको अधिकारीहरूले बताएका छन्।







































