काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र पेश गरेको हो।
अनुसन्धानका क्रममा भिजिट भिसामा विदेश जाने नेपाली यात्रुबाट रकम असुलिएको आरोप पुष्टि भएको थियो। भट्टराईलाई गत जेठ ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो। उनी त्यसबेला विमानस्थल अध्यागमन कार्यालयका प्रमुख थिए।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, घुस र रिसवतको मामिलामा ६ व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।
आयोगले भट्टराईविरुद्ध ७९ लाख ८० हजार, अध्यागमन अधिकृत यज्ञराज अर्यालविरुद्ध ८ लाख, ग्रीनलाइन ट्राभल्स् एण्ड टुरका संचालक बालकृष्ण खड्का र राम खड्कालाई जनही ३० लाख २० हजार बिगो माग गरेको छ।
त्यस्तै, बानेश्वरस्थित सेन्ट्रल रिसर्च अफ साइन्स एन्ड टेक्नोलोजी इन्स्टिच्युटका ल्याब सहायक कविता पौडेलविरुद्ध ७९ लाख ८० हजार, फ्यामिली होलिडेज् ट्राभल्स एण्ड टुरका सञ्चालक दीपक भण्डारीविरुद्ध १० लाख ६० हजार, र जग्गा व्यवसायी खेमप्रसाद सुवेदीविरुद्ध ७९ हजार ८० रूपैयाँ बिगो माग गरिएको छ।
सूचना अधिकारी रेग्मीका अनुसार, माथिका दुई कम्पनीलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ।






































