काठमाडौं— शिवपुरी–नागर्जुन राष्ट्रिय निकुञ्जभित्र बाटो बिराई हराएका तीन जनालाई नेपाली सेना, निकुञ्ज प्रशासन र नेपाल प्रहरीले संयुक्त रूपमा राति नै सकुशल उद्धार गरेका छन्।
मंसिर २५ गते पानीमुहान क्षेत्रमा रहेका दुई महिला र एक पुरुषको समूह शिवपुरी हाइटतर्फ जाँदै गर्दा बाटो छुटेपछि उनीहरू सम्पर्कविहीन बनेका थिए।
सम्पर्क टुटेपछि नेपाली सेनाको चन्दननाथ गण, निकुञ्जका सुरक्षाकर्मी तथा नेपाल प्रहरीको टोलीले समन्वय गर्दै खोजी सुरू गरेको थियो। खोजीका क्रममा टोलीले उनीहरूलाई शिवपुरी पिक नजिकै फेला पारेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। फेला परेका तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।
उद्धारपछि आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई नेपाल प्रहरीको जिम्मा लगाइएको सेना स्रोतले जनाएको छ।






































