गोरखा— धार्चे गाउँपालिका–२, रुन्चेतस्थित गण्डकी माध्यमिक विद्यालयमा ३७ वर्ष सेवा समर्पण गरेका प्रधानाध्यापक इन्द्रबहादुर उपरकोटीलाई विद्यार्थीहरूले हेलिकप्टरमार्फत बिदाइ गरी अद्वितीय उदाहरण प्रस्तुत गरेका छन्।

उपरकोटीले लामो समयदेखि उत्तरी गोरखाका विद्यार्थीहरूलाई शिक्षादान गर्दै आएका थिए। भुईँबाट उड्ने सपना सिकाउने गुरुका रूपमा चिनिने उनले सेवाबाट निवृत्त हुँदै गर्दा विद्यार्थी, पूर्वविद्यार्थी तथा अभिभावकहरूले आकाशैबाट सम्मान प्रदान गरेका हुन्।

फिनामा जन्मिएका र हाल परिवारसहित भरतपुरमा बसोबास गर्दै आएका उपरकोटीलाई रुन्चेतबाट काठमाडौं हुँदै भरतपुरसम्म पुर्‍याउने सम्पूर्ण यात्रा व्यवस्थापन पूर्वविद्यार्थीहरूले स्वयं रकम जुटाएर गरेका थिए।

शिक्षकप्रतिको आदर्श सम्मानको रूपमा गरिएको यस्तो बिदाइ स्थानीय क्षेत्रमा प्रेरणादायी घटना बनेको छ।