दार्चुला— जिल्लाको सदरमुकाम खलंगा बजार क्षेत्रमा प्रहरीले चरेससहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ब्यास गाउँपालिका–६ हुती घर भई महाकाली नगरपालिका–४ मा डेरा गरी बस्ने २२ वर्षीय बिजय टमटा र खलंगा बजार बस्ने २१ वर्षीय धिरज लुहार रहेका छन् ।
सोमबार साँझ नियमित गस्तीका क्रममा प्रहरीले उनीहरूलाई शंकास्पद लागेपछि चेकजाँच गर्दा ३१ ग्राम चरेस फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी प्रवक्ता निरीक्षक हेमराज भट्टका अनुसार पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।






































