सुनसरी— बराहक्षेत्र नगरपालिका–११ मनाही टोलमा प्रहरीले गरेको चेकजाँचका क्रममा १९ किलो गाँजा बरामद गरी दुई जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा कोशी गाउँपालिका–६ का रामनाथ यादव (मोटरसाइकल चालक) र भारत बिहार राज्य, सुपौलका भूषण कुमार यादव रहेका छन्।

गएराति मधुवन प्रहरी चौकीबाट खटिएको टोलीले प्रकाशपुरबाट मधुवनतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ प ३४९४ नम्बरको मोटरसाइकल रोकेर खानतलासी गर्दा लागूपदार्थ फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।

मोटरसाइकलको पछाडिको सीटमा सवार रहेका उनीहरू समातिएपछि प्रहरीद्वारा तत्काल नियन्त्रणमा लिइएका छन्।

प्रहरीले बरामद गाँजा, मोटरसाइकल तथा दुवै युवकलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी लागूऔषध ऐनअन्तर्गत थप अनुसन्धान अघि बढाएको जनाएको छ।