रसुवा— रसुवामा सोमबार बिहान भालुको आक्रमणमा परी दुई जना गम्भीर रूपमा घाइते भएका छन्। घाइतेमध्ये नौकुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेको स्थानीय रामप्रसाद पौडेलले जानकारी दिए।

पौडेलका अनुसार निजी जमिनमा घाँस काटिरहेको अवस्थामा लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलबाट आएको भालुले उनीहरूलाई आक्रमण गरेको हो। अचानक भएको आक्रमणले दुवैजनामा गम्भीर चोट लागेको बताइएको छ।

आक्रमणपछि स्थानीयले तत्काल प्राथमिक उपचार गरेपछि थप उपचारका लागि दुवैलाई काठमाडौं पठाइएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।