काठमाडौं— नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ३ ले आसन्न निर्वाचनका लागि मेडिकल व्यवसायी डा.सुनिल शर्मालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ । क्षेत्रीय कार्यसमितिको शनिबार बसेको बैठकले शर्माको नाम एकल उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।
पार्टीको केन्द्रीय सर्कुलर अनुसार प्रत्यक्षतर्फ एक महिलासहित ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि बैठकमा उपस्थित महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र अन्य आकांक्षीहरूले समेत शर्मालाई नै प्रस्ताव गरेपछि उनी एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको क्षेत्रीय समितिका सचिव राजेन्द्र अधिकारीले जानकारी दिए ।
क्षेत्रीय समितिले प्रतिनिधिसभाको समानुपातिकतर्फ बसन्त भट्टराई, सूयर्माराज राई, रेखबहादुर तामाङ र बिन्दु कुमारी कार्कीको नाम सिफारिस गरेको छ ।
त्यस्तै, राष्ट्रिय सभा सदस्यका लागि लोकप्रसाद संग्रौला, राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्ष केशव निरौला र योगेन्द्र दाहालको नाम सिफारिस गरिएको छ ।
पछिल्लो समय शर्माले दिएका विवादास्पद अभिव्यक्ति र अन्य राजनीतिक दलका नेता (रवि लामिछाने लगायत) सँगको भेटघाटका विषयमा पार्टीभित्र आलोचना भइरहेको छ । पछिल्ला समय शर्माको अभिव्यक्तिप्रति कांग्रेसकै कार्यकर्ताहरु भने रुष्ट छन् ।
‘बैठकमा पनि शर्माको बोलीमा लगाउनु पर्ने कुरा उठेको थियो,’ बैठकमा सहभागी एक नेताले भने, ‘तर पार्टीले उनलाई होइन उनले पार्टी चलाएजस्तो अवस्था छ भन्ने निष्कर्ष निकालेका छौं ।’
क्षेत्रीय समितिले उम्मेदवारहरूको टुंगो लगाएर निर्णय गरिसकेको र अब औपचारिक पत्र पठाउन मात्र बाँकी रहेको सचिव अधिकारीले जानकारी दिए ।
यसअघि शर्मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।




































