रुकुम पश्चिम— प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका पूर्वमन्त्री जनार्दन शर्मा आइतबार रुकुम पश्चिमको सल्ले विमानस्थलमा विरोध प्रदर्शनको सामना गर्नुपरेको छ।
विमानबाट अवतरण हुने बित्तिकै पूर्वमाओवादी कार्यकर्ताहरूको समूहले शर्माविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएर विरोध जनाएको स्थानीय स्रोतले बताएको छ।
अचानक गरिएको प्रदर्शनपछि विमानस्थलको माहोल केही तनाबग्रस्त बने पनि सुरक्षा निकायले तत्काल परिस्थिति नियन्त्रणमा ल्याएको थियो।
स्थितिलाई थप उत्तेजित हुन नदिई सामान्य बनाइएको र सुरक्षामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
शर्माले नयाँ राजनीतिक दल गठन गरी हाल विभिन्न जिल्लामा राजनीतिक भेलामा सहभागी हुँदै आएका छन्। यसै क्रममा उनको रुकुम पश्चिम आगमनबेला प्रदर्शन गरिएको हो।






































