एजेन्सी— काठमाडौंमा सोमबार राति एक इजरायली पर्यटकलाई स्थानीय युवाहरूको समूहले कुटपिट गरेको इजरायलको सञ्चारमाध्यम वाईनेटले समाचार प्रकाशन गरेको छ ।

आल्मोग आर्मोजा नाम गरेका २५ वर्षका इजरायलीले हिब्रु भाषा बोलिरहेको सुनेपछि युवाहरूले आक्रमण गरेको दाबी गरेका छन् । होस्टेल जाँदै गर्दा एक समूहले पछाडिबाट रडले प्रहार गरेको उनले बताए ।

‘उनीहरूले आइन रडले मेरो टाउकोमा हाने,’ आर्मोजाले भने, ‘म भाग्न सफल नभएको भए नबाँच्ने सम्भावना थियो ।’

आर्मोजाका अनुसार, इजरायली भएकैले उनीमाथि आक्रमण भएको हो । ‘म होस्टेल जाने गल्लीमा भएको उनीहरूलाई थाहा थियो र उनीहरूले मबाट केही चोरेनन्,’ उनले भने, ‘पहिलो प्रहारमै म बेहोश भएको भए परिणाम फरक हुन सक्थ्यो ।’

यो घटनास्थल होस्टेलबाट करिब १५० मिटर दूरीमा रहेको थियो । इजरायली पर्यटकहरूले प्रायः त्यो बाटो प्रयोग गर्ने गरेका थिए ।

हिब्रु भाषामा भोइस मेसेज रेकर्ड गर्दै गर्दा आक्रमण भएको आर्मोजाले बताएका छन । त्यतिबेला आक्रमणकारीहरूले उनलाई घेरेका थिए ।

‘मेसेज सक्नै लाग्दा मैले टाउकोमा ठूलै चोट लागेको अनुभूति गरें,’ उनले भने, ‘उनीहरू पछाडिबाट आएका थिए । पहिलो र दोस्रो प्रहारबीच केही सेकेन्डको मात्र अन्तर थियो । म फर्केर हेर्दा तीनदेखि पाँचजना मानिस देखें । एकजनाले मेरो ज्याकेट समात्यो र अर्कोले फेरि हानेर मेरो टाउको फुटाइदियो ।’

आर्मोजाले एक आक्रमणकारीलाई लात हानेर भाग्न सफल भए । उनी होस्टेलतर्फ दौडे । ‘उनीहरूले मलाई पछ्याए तर म होस्टेलको ढोकामा पुगेको देखेर उनीहरू भागे,’ उनले भने ।

प्रहरीलाई खबर गरेपछि उनलाई अस्पताल लगियो । ‘शायद मैले करिब एक लिटर रगत बगाएँ,’ उनले भने, ‘उनीहरूले टाँका लगाए र एमआरआई गरे । मार्ने उद्देश्यले नै ममाथि आक्रमण गरिएको थियो ।’

इजरायलको गेडेरा नजिक बस्ने र मार्केटिङ तथा इम्पोर्ट व्यवसायमा काम गर्ने आर्मोजाले यो डकैती प्रयास नभएको दोहोर्याए । ‘मेरो फोन हातमै थियो, उनीहरूले छुन पनि खोजेनन्,’ उनले भने, ‘म तीन वर्षदेखि संसारभरि यात्रा गरिरहेको छु । डकैती यस्तोखालको हुँदैन । उनीहरू कसैलाई कुट्न मात्र आएका थिए । म नभागेको भए आज यहाँ नहुन पनि सक्थें ।’

घटनाका बावजुद उनी नेपाललाई खराब रूपमा चित्रण गर्न चाहँदैनन् । ‘नेपालीहरू सामान्यतया धेरै असल हुन्छन्,’ उनले भने, ‘यो उग्रवादीहरूको समूह थियो जस्तो मलाई लाग्छ ।’

काठमाडौंमा यहुदी यात्रीहरूलाई सहयोग गर्ने छाबाडका प्रतिनिधि रब्बी खेज्की लिफ्शिट्ज पनि आर्मोजासँग अस्पतालमा थिए । ‘उनीहरूको के उद्देश्य थियो, अझै स्पष्ट छैन,’ उनले भने, ‘यो इजरायलप्रतिको घृणाबाट प्रेरित देखिन्छ किनकि उनीमाथि पछाडिबाट कुनै उक्साहटबिना आक्रमण भयो । यो सुनियोजित आक्रमण थियो र आर्मोजामाथि उनीहरूले आक्रमणको तयारी गरेका थिए । दिनभरिमा थप जानकारी आउला भन्ने अपेक्षा छ । त्यस क्षेत्रमा टन्नै क्यामरा छन् ।’

अस्पताल भर्ना भएका कारण आर्मोजाले इजरायल फर्किने आफ्नो उडान छुटाए । अहिले उनी बिमा कम्पनीले नयाँ टिकट मिलाइदिने प्रतीक्षा गरिरहेका छन् ।