काठमाडौं—  हरेक वर्ष डिसेम्बर ३ मा मनाइने अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले देशभरका अपाङ्गता भएका व्यक्तिहरू, अभिभावक, तथा यस क्षेत्रमा सक्रिय सरकारी–गैरसरकारी संस्था र सबै सरोकारवालामध्ये शुभकामना व्यक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले नेपालको संविधान, अन्तर्राष्ट्रिय सन्धि–महासन्धि तथा विद्यमान कानुनहरूले अपाङ्गता भएका व्यक्तिका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक अधिकारलाई मजबुत रूपमा सम्बोधन गरेको बताइन् । उनले अपाङ्गता भएका व्यक्तिको अवस्थाका आधारमा सेवा–सुविधामा प्राथमिकता दिने राज्यको नीति स्पष्ट भएको उल्लेख गरिन् ।

सरकारले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र पुनःस्थापनामा सहज पहुँच सुनिश्चित गर्न काम गरिरहेको बताउँदै उनले दिगो विकास लक्ष्य हासिल गर्न अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व अपरिहार्य रहने टिप्पणी गरेकी छन् ।

अपाङ्गता भएका व्यक्तिले भोगिरहेका भौतिक, दृष्टिकोणजन्य, सञ्‍चार तथा कानुनी अवरोध हटाई सहज र सम्मानजनक वातावरण बनाउन तीनै तहका सरकारको संयुक्त प्रयास आवश्यक रहेको उनको भनाइ छ ।