रौतहट । पर्सा प्रहरीले एकसय किलो भन्दा बढी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गाँजा ओसार–पसार भइरहेको सूचनाका आधारमा प्रहरीले सवारी साधन तथा पैदल यात्रुहरूलाई चेक गर्ने क्रममा कारबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । 

मनवाबाट रंगपुरतर्फ जाँदै गरेको बा.अ.ब ९३९८ नम्बरको कार रोकी खानतलासी गर्दा कारबाट १० वटा पोकामा लुकाइ राखिएको १ सय ४ किलो गाँजा बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी राजु कार्कीले जानकारी दिए ।

 उनका अनुसार मकवानपुर भिमफेदी गाउँपालिका–८ का ३२ वर्षीय भिम स्याङ्तान र मकवानपुर मकवानपुरगढी गाउँपालिका–१ आपटारका ३८ वर्षीय कुमार स्याङ्तानलाई पक्राउ गरिएको छ ।

गाँजा तस्करीमा प्रयोग गरिएको कार सहित उनीहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए । 

उनीहरूलाई कार तथा गाँजासहित नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ ।