काठमाडौं । बागमती प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा पालिका केन्द्र–बस्ती विकास आयोजना उपर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

काठमाडौंमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका विभिन्न पालिकाका प्रमुख तथा अध्यक्षहरुले पालिका केन्द्र र बस्ती विकासका विषयमा धारणा राखेका थिए । 

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाको उपस्तिथिमा भएको कार्यक्रममा आयोजना, बजेट व्यवस्थापन, विकासका चुनौती लगायतका विषयमा छलफल भएको थियो । 

मन्त्री देवकोटोले बस्ती विकासको कार्यविधि बनाउन नै चुनौती रहेको बताए । पालिकाहरुलाई मन्त्रालयको तर्फबाट कार्यविधि बनाउन सबै सहयोग प्रदान गर्ने बताउँदै उनले कार्यविधि औचित्यका आधारमा बनाउनुपर्नेमा जोड दिए । 

उनले भने, ‘आवश्यकताअनुसार एक वर्षीय र बहुवर्षीय योजना बनाउनुपर्छ । भएका विकृति विसंगति कम गर्दै सुधार गर्दै जानुपर्छ । बस्ती विकासमा पालिकाको भूमिका नै महत्वपूर्ण हुन्छ ।’

मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठाले अहिले शहर बनिसकेका ठाउँलाई व्यवस्थित र सुधार गर्दै शहर नबनेका ठाउँका लागि अहिले नै योजना बनाएर अघि बढ्नुपर्ने बताए । जेजे पूर्वाधारको अभाव छ त्यो निर्माण गर्नतर्फ केन्द्रित हुनुपर्ने उनको सुझाब छ । 

‘बनाएका योजना दराजमा धन्क्याएर हुँदैन । कार्यान्वयन गरिहाल्नुपर्छ । बस्ती विकासका सवालमा हामी असफल भएका छौँ ।” उनले भने ।

दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले फोहोर व्यवस्थापनको सवालमा धारणा राखे । आफ्नो नगरपालिकामा फोहोर व्यवस्थापनका लागि उचित ठाउँ प्रशस्तै भएकाले अन्य पालिकालाई पनि सहयोग गर्न तयार रहेको उनले स्पष्ट पारे ।

उनले भने– “उचित ठाउँ हेरेर छलफल गरौँ । सरसफाईका लागि स्थानीयलाई पनि स्पष्ट पार्नुपर्छ । विज्ञहरुसँग पनि छलफल गरेर फोहोर व्यवस्थापनको दीर्घकालिन उपाय खोज्न सकिन्छ । यसका लागि दक्षिणकालि नगरपालिकामै सबै बसेर छलफल गरौँ भन्ने प्रस्ताव राख्दछु ।”

त्यसैगरी इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोकका अध्यक्ष झम्कनाथ नेपालले स्थानीय तहमा कनिका छराइको बजेटले कुनै उपलब्धि नहुने स्पष्ट पारे । आफूले अध्यक्ष जितेर आएपछि तीन वर्ष भइसक्दा पनि उचित बजेटको अभावमा ठोस र मूर्त काम देखाउन नसकेको उनको स्वीकारोक्ति छ । 

उनले भने– “स्थानीय स्रोत साधन छैन, संघीय समानिकरण र राजश्व बाँडफाडको भरमा के नै गर्न सकिन्छ र ?” 

त्रिपुरासुन्दरी गाउँपालिका, धादिङका अध्यक्ष राजु उप्रेतीले भूकम्पपछि त्रिपुरासुन्दरी गाउँपालिकामा बस्ती विकासको योजना बने पनि प्रभावकारी बन्न नसकेको बताए । उनले भने– “देशकै ठूलो टार छ, भूगोल ठूलो छ, तर भूकम्पपछि उचित नीति बन्न नसक्दा भवन निर्माण अस्तव्यस्त छ ।” 

खाँडादेवी गाउँपालिका, रामेछापका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले गाउँमा मान्छे बस्नै छाडेको भन्दै चिन्ता व्यक्त गरे । अव्यवस्थित बसोबासका कारण गाउँहरु संकटमा परेको उनको भनाइ छ । 

“घरघरमा सडक होइन, सडकमा बस्ती बसाल्नुपर्छ । बस्नयोग्य जमिन पहिचान गर्नुपर्छ । विद्यालय र स्वास्थ्य केन्द्र पनि खाली हुन थालिसके । मानिसलाई शहर जानबाट रोक्न गाउँमै सुरक्षित आवास निर्माणमा ध्यान दिनुपर्छ । एकीकृत आवासको सिद्धान्तसँग जोडेर योजना बनाउनुपर्छ । टुक्रे योजना बनाउने काम रोक्नुपर्छ ।” श्रेष्ठको भनाइ छ ।

कोन्ज्योसोम गाउँपालिका, ललितपुरका अध्यक्ष कृष्णमान लामाले काठमाडौं उपत्यका भरिन लागिसकेको उल्लेख गर्दै अब बस्तीको अभाव हुनेतर्फ ध्यानाकर्षण गराए । आफ्नो गाउँपालिका शहरबाट टाढा भए पनि काठमाडौं उपत्यकामा ठाउँ नहुँदा बस्ती बढिरहेको उल्लेख गरे । 

उनले भने– “बस्ती यति धेरै विस्तार भयो कि अब शहरी क्षेत्रमा बस्ने ठाउँ पाउनै मुस्किल छ । त्यसपछि सबै जना यही कोन्ज्योसोम गाउँपालिकामा आउनुपर्छ । अहिले नै जग्गाहरु टुक्रिन थालिसके ।” 

कार्यक्रममा ईन्जिनियर भुपेन्द्रकुमार यादवले विषयवस्तु प्रस्तुत गरेका थिए । त्यसैगरी इन्जिनियर सुवोध अधिकारीले कार्यक्रमको उद्धेश्य र स्वागत मन्तव्य राखेका छन् ।