विराटनगर— भोजपुर र धनकुटाको विभिन्न डाँडा–पाखामा प्राकृतिक रूपमा उम्रिएका तथा लगाइएका गाँजाका बिरुवाहरू प्रहरीले फडानी गरी नष्ट गरेको छ।

मंसिर १५ गते सुरक्षित वातावरण र अवैध खेती नियन्त्रण अभियानअन्तर्गत, जिल्ला प्रहरी कार्यालय भोजपुर तथा इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी बालंखा र हसनपुरबाट खटिएको संयुक्त टोलीले आमचोक र हतुवागढी गाउँपालिकाका विभिन्न क्षेत्र कभर गर्दै करिब ७२ रोपनी भूभागमा फैलिएका ७ हजार २ सय ५० बोट गाँजा फडानी गरेको हो।

यस्तै, धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट टोली खटिएर सहिदभूमि गाउँपालिका–३ को डाँडापाखामा रहेको झण्डै ३ रोपनी क्षेत्रफलमा उब्जिएको करिब ७ सय बोट गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ।