धनगढी— गृहमन्त्री ओमप्रकाश अर्यालले भयरहित वातावरणमा तोकिएकै मितीमा निर्वाचन सम्पन्न हुने बताएका छन् ।
गृह मन्त्रालयले मङ्गलबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीहरू र लुटिएका हतियारहरूका कारण आगामी प्रतिनिधिसभा निर्वाचन बिथोलिन नदिने उद्घोष गरे।
सुरक्षा चुनौतीको व्यवस्थापनमा सरकारले विशेष अभियान चलाएको र चुनावअघि नै लुटिएका हतियार र फरार कैदीबन्दीहरु नियन्त्रणमा ल्याइने बताए ।
भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कुल १४,५५४ कैदीबन्दी र बालबन्दीमध्ये ९,६९७ लाई फिर्ता ल्याइसकिएको छ। अझै ४,८५७ कैदीबन्दी र बालबन्दीहरू फरार अवस्थामा छन्। मन्त्री अर्यालले जघन्य अपराध (जस्तै कर्तव्य ज्यान वा ज्यान मार्ने उद्योग) सम्बन्धी फरारहरूको संख्या कम रहेको र विशेष अभियान चलाएर सबैलाई पक्राउ गर्ने प्रतिबद्धता व्यक्त गरे। “फरार कैदीबन्दी फिर्ता ल्याउने क्रम पछिल्लो समय वृद्धि भएको छ । हामीले सबैलाई फिर्ता ल्याएरै छाड्छौं,“ उनले भने।
आन्दोलनका क्रममा लुटिएका हतियारमध्ये ७२३ थान बरामद भइसकेका छन्। बाँकी केही संख्यामा मात्र बाहिर रहेको उल्लेख गर्दै मन्त्रीले सुरक्षा संवेदनशीलताका कारण पूर्ण संख्या नखुलाउने बताए। उनले यो विषयलाई अतिरञ्जित नगर्न आग्रह गर्दै भने, “फरार कैदीबन्दी र बाहिर रहेका हतियारको कारणले चुनाव बिथोलिँदैन। यो कारणले निर्वाचन नै बिथोलिने हामीले हुन दिँदैनौं।“
मन्त्री अर्यालले द्वन्द्व दोहोरिन नदिन र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको पनि जोड दिए। हालैका रिपोर्टहरूअनुसार, जेनजी प्रदर्शनसँग सम्बन्धित ५९५ जनालाई पक्राउ गरिएको छ र २८३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।






































