काठमाण्डौ । १९ करोड ८१ लाख रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा २३ वर्षीय मोहम्मद सेफ पक्राउ परेका छन् ।
मंसिर १० गते साँझ ६ बजे भद्रकालीमा केही मानिसले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबार गरिरहेको भन्दै सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले बारा कलैयाका डल्लुमा बस्ने सेफलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले क्रिप्टोकरेन्सी कारोबार गर्न प्रयोग भएको विभिन्न ब्राण्डको २ थान मोबाइल फोन बरामद गरेको छ । प्रारम्भिक अनुसन्धान गर्दा १९ करोड ८१ लाख रुपैयाँभन्दा बढी बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको देखिएको प्रहरीले बताएको छ ।
सेफउपर क्रिप्टोकरेन्सी प्रयोग गर्न नहुनेसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







































