काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विगतका राजनीतिक दलका नेताहरुले राजनीतिक नेतृत्वमा सफलता हासिल गरेपनि विकासको नेतृत्वमा भने चुकेको बताएका छन् ।
बुधबार राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युटले संयुक्त रुपमा आयोजना गरेको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन –२०८२ लाई सम्बोधन गर्दै उनले राजनीति र व्यवस्था परिवर्तनमा सफल भएका नेताहरु विकासको नेतृत्वमा चुकेको कारण जेनजी आन्दोलनको जन्म भएको बताएका हुन् ।
उनले भने,‘हामीले केही हुँदै छ,भन्ने आशा जगाउने काम गर्नुपर्ने छ । सुशासनको प्रत्याभूति पनि दिनु पर्ने छ । सबैभन्दा महत्वपूर्ण कुरा निर्वाचन गराउनुपर्ने छ । यो जेनजी आन्दोलन त्यत्तिकै भएको थिएन । लामो समयको निराशा,आक्रोसको बिस्फोटन थियो । किन यो जन्मियो त भनेर खोज्ने हो भने देशमा राजनीति र सिस्टममा परिवर्तन धेरै देख्यौं । तर,त्यसपछिको विकासको एजेण्डामा नेतृत्व दिन हरेक पटक असफल हुँदै गयो । विगतका राजनीतिक नेतृत्वहरु धेरै सफल हुनुभयो तर,सफल विकासको सन्दर्भमा सफत नेतृत्वकर्ता हुन सक्नुभएन ।’
त्यस्तै मन्त्री घिसिङले ठूलो चुनौतीको बीचमा आफूले मन्त्रीको भूमिका निभाएको स्मरण गरे । देशको नाजुक अवस्थामा नेतृत्व लिएर देशलाई सेफ ल्यान्डिङमा लानुपर्छ भन्ने लागेर आफूले मन्त्रिको जिम्मेवारी लिन तयार भएको उनी सुनाउँछन् ।
‘ठूलो चुनौतीको बीचमा मैले एउटा मन्त्रीको भूमिका निभाएर आएको हुँ । जिम्मेवारी लिनुपर्यो भन्दापनि पछाडी हट्ने अवस्था मैले पनि अनुभूति गरेको थिए । मैले एउटा देशको नाजुक अवस्थामा नेतृत्व लिएर देशलाई एउटा सेफ ल्यान्डिङमा लानुपर्छ । निकास दिनुपर्छ भनेर यो सरकारमा मन्त्रिको जिम्मेवारी लिएको हुँ ।’
पुराना ऐन कानुनले समृद्धिको जनचाहना पूरा गर्न नसकेको बताउँदै मन्त्री घिसिङले निर्वाचन पछि आउने सरकारल त्यस्ता ऐन, कानुन र नीति परिवर्तन गर्नुपर्ने धारणा राखे ।
उनले सबै राजनीतिक दल निर्वाचन भाग लिन निर्वाचन आयोगमा दर्ता भएको भन्दै तोकिएको समयमै निर्वाचन हुने दावी गरे ।






































