सर्लाही— सर्लाही र सिरहामा छुट्टाछुट्टै घटनामा ठूलो परिमाणको स्रोत नखुलेको नगदसहित तीन जना पक्राउ परेका छन्।
सर्लाहीको मलंगवा–८ मा प्रहरीले भारतका सीतामढी सोनवर्षा–४ का ४६ वर्षीय दिलिप ठाकुर र १९ वर्षीय सोनु शर्मालाई पक्राउ गरेको हो। गोरखकाली प्रहरी चौकीबाट खटिएको टोलीले बा.८९ प ६२५२ नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका उनीहरूबाट १ लाख ९८ हजार रुपैयाँ बरामद गरेको जनाएको छ।
यसैगरी सिरहा नगरपालिका–१७ मा इलाका प्रहरी कार्यालय माडरले भारत मधुवनी जयनगरका २५ वर्षीय अरजित कुमार यादव, ४० वर्षीय संजय कुमार साह र ३५ वर्षीय मोहम्मद गुलसाहलाई नियन्त्रणमा लिएको छ। उनीहरू सवार मोटरसाइकल ‘अन टेस्ट’ नम्बरमा भारतबाट नेपालतर्फ आउँदै गर्दा प्रहरीले १ लाख ३९ हजार ३०० भारतीय रुपैयाँ बरामद गरेको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको जनाएको छ।





































