रौतहट— लैङ्गिक हिंसा विरोधी १६ दिने अभियानको पहिलो दिन नै रौतहटमा २२ वर्षीया तरिमा खातुनको घरपरिवारकै सदस्यले हत्या गरेका छन्। बृन्दाबन–९ की खातुनलाई चरम रूपमा कुटपिट गरी हत्या गरिएको प्रहरीले जनाएको छ।

ससुरा शेष अलि महम्मदसहित घरका सबै सदस्य घटनापछि फरार छन्। उनीहरूलाई तरिमाको भतिजासँग सम्बन्ध रहेको शंकाका आधारमा कुटपिट गरेको बताइएको छ। मृतकको टाउकोमा धारिलो हतियार प्रहार गरिएको र खुट्टामा नीलडाम भेटिएको छ। शव घरकै गोठमा गाडिएको अवस्थामा फेला परेको हो।

तरिमाका श्रीमान साउदी अरबमा वैदेशिक रोजगारीमा छन्। डेढ वर्षको छोरा समेत घरपरिवारले लुकाएको प्रहरीले बताएको छ। घटना सम्बन्धी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।