काठमाडौं— कुलमान घिसिङको समर्थन रहेको बताइने उज्यालो नेपाल पार्टीसहित तीन राजनीतिक दलबीच एकता प्रक्रियालाई तीव्र बनाइएको छ। उज्यालो नेपाल, नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एउटै संगठनमा एकीकृत हुने उद्देश्यसहित निरन्तर संवादमा रहेका छन्।
नागरिक उन्मुक्ति पार्टीका नेता तथा लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरीका अनुसार दलहरूले एकताको अन्तिम चरणमा प्रवेश गरिसकेका छन्। उनका अनुसार मंगलबार मात्र पनि कुलमान घिसिङ सहभागी रहने गरी संयुक्त बैठक बसेको र एकताका प्रमुख बुँदाहरूमा छलफल भएको छ।
‘हामी अहिले एकताको बिलकुल नजिक छौँ,’ चौधरीले बताए, ‘फागुन २१ गते हुने निर्वाचनका लागि मर्ज भएर एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने दिशामा अगाडि बढिरहेका छौँ।’
उनका अनुसार अब बाँकी रहेका केही प्राविधिक विषय मिलाएपछि छिट्टै एकताको औपचारिक मिति घोषणा गरिनेछ।
हाल नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता चौधरी छन् भने हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार रहेका छन्।





































