काठमाडौं— एमाले दोलखाका पूर्वसचिव तथा शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले दुलाललाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन।
पार्टी प्रवेशपछि दुलालले वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिस्ट आन्दोलनलाई एकीकृत रूपमा अघि बढाउनु आवश्यक रहेको बताए । एमालेभित्र सम्भव नदेखिएकाले आफू नेकपा रोज्न बाध्य भएको उनले टिप्पणी गरे। उनका अनुसार देशभरका कम्युनिस्ट शक्तिलाई एउटै धारमा उभ्याउनु अहिलेको आवश्यकता हो, र त्यसैले आफू नेकपामा समाहित भएको हो।
नेकपाले दुलाललाई प्रवेशसँगै केन्द्रीय सदस्यका रूपमा मनोनित गरेको छ। मनोनयनपत्रमा दुलालको लामो समयदेखि एमालेभित्रको सक्रियता र नेतृत्व क्षमताका आधारमा उनलाई केन्द्रीय जिम्मेवारी दिइएको उल्लेख छ।





































