काठमाडौं— मलेसियाले जोहार राज्यमा अवैधानिक रूपमा बसेका १२ नेपालीलाई पक्राउ गरी देशनिकाला गरेको छ। जोहरको पेकान नेनास डिपोर्ट केन्द्रमार्फत ९ पुरुष र ३ महिलालाई आजीवन प्रतिबन्धसहित बाटिक एयरको उडानबाट काठमाडौं पठाइएको मलेसियाली अध्यागमन विभागले जनाएको छ।

अध्यागमन डिपोले विभिन्न १११ जना विदेशी नागरिकलाई स्वदेश फर्काइएको छ। तीमध्ये १२ नेपालीसँगै ४९ बंगलादेशी, २४ इन्डोनेसियाली, ९ पाकिस्तानी, ४–४ जना कम्बोडियन र भारतीय, ३ चिनियाँ तथा २ जना लाओस, भियतनाम र सिंगापुरका नागरिक पनि छन्।

डिपोर्ट गरिएका सबैलाई केएलआइए–१, केएलआइए–२, सेनाई अन्तर्राष्ट्रिय विमानस्थल, स्टुलाङ लाउट फेरी टर्मिनल तथा सुल्तान इस्कन्दर भवन कम्प्लेक्समार्फत आफ्ना–आफ्नै देश गन्तव्यतर्फ पठाइएको हो। डिपोर्ट भएका नेपालीहरूको नाम–ठेगाना तथा उनीहरू कुन मुद्दामा पक्राउ परेका थिए भन्ने भने सार्वजनिक गरिएको छैन।

अध्यागमनका अनुसार स्वदेश फर्कने कैदीहरूका टिकट खर्च व्यक्तिगत बचत, परिवारको सहयोग वा सम्बन्धित दूतावासको व्यवस्थापनबाट बेहोर्ने व्यवस्था छ। जोहर राज्यको अध्यागमन विभागले डिपोर्ट टाउनमार्फत सजाय सम्पन्न गरिसकेका कैदीहरूलाई नियमित रूपमा स्वदेश पठाउँदै आएको छ।

हाल मलेसियामा अवैध कामदारविरुद्ध कडा अभियान चलाइएपछि सयौँ नेपालीसमेत पक्राउ परिरहेको बताएको छ। स्थानीय नेपाली दूतावासले गैरकानुनी रूपमा नबस्न र बसेका छन् भने जरिवाना तिरेर स्वदेश फर्किन आग्रह गर्दै आएको छ।

मलेसियामा हाल करिब पाँच लाखभन्दा बढी नेपाली विभिन्न क्षेत्र र उद्योगमा कार्यरत रहेका छन्।