काठमाडौं— अफगानिस्तानमा पाकिस्तानले गरेको भनिएको हवाई आक्रमणमा नौ बालबालिका र एक महिलाको मृत्यु भएको तालिबान नेतृत्वको अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले दाबी गरेका छन्। उनका अनुसार खोस्ट प्रान्तको गार्बुज जिल्लामा सोमबारदेखि मंगलबार मध्यरातसम्म भएको बम विस्फोटमा साधारण नागरिक मृत्युवरण गरेका हुन्।
मुजाहिदले सामाजिक सञ्जाल ‘एक्स’मार्फत सार्वजनिक गरेका विवरण र तस्बिरमा ९ बालबालिका र एक महिलाको मृत्यु भएको उल्लेख छ। उनले कुनार र पक्तियाका विभिन्न स्थानहरूमा पनि पाकिस्तानले हवाई आक्रमण गरेको दाबी गर्दै ती घटनामा कम्तीमा चार जना घाइते भएको जानकारी दिएका छन्।
बीबीसीसँग कुरा गर्दा कुनार प्रान्तका स्थानीयहरूले मारावारा, असदाबाद र शेलितान क्षेत्र आसपास ठूलो विस्फोटको आवाज सुनिएको पुष्टि गरेका छन्।
अफगानिस्तानले पाकिस्तानी सेनामाथि आफ्नै सीमाभित्र हवाई हमला गरेको आरोप लगाएको यो पहिलो घटना भने होइन। केही हप्ता अघि पनि काबुललगायत विभिन्न क्षेत्रहरूमा पाकिस्तानले आक्रमण गरेको तालिबान सरकारले आरोप लगाएको थियो।
हालसम्म पाकिस्तानले पछिल्लो आरोपबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। यद्यपि विगतमा पाकिस्तानले अफगान–पाक सीमा नजिक रहेका आतंकवादी समूहका आश्रयस्थलहरूलाई लक्षित गर्दै कारबाही गरेको भने स्वीकार गरेको थियो। तहरीक–ए–तालिबान पाकिस्तानका गतिविधिका कारण दुबै देशबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा तनावपूर्ण बन्दै आएको छ।






































