काठमाडौं— नेकपा एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै एमाले सर्वोच्चमा पुगेको हो। यो जानकारी विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौलाले दिएका हुन्।

यसअघि विघटित प्रतिनिधिसभा संसदीय दलको बैठकले अदालत जानेसम्बन्धी निर्णय गरेको थियो। बैठकले मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई रिट दर्तासम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न आवश्यक अधिकार दिने निर्णय गरेको थियो।

रिट निवेदकका रूपमा एमाले संसदीय दल (विघटित प्रतिनिधिसभा) तर्फबाट बर्तौला र बराल रहेका छन्।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा यसअघि दर्ता भएका १७ वटा रिटसँगै विचाराधीन रहेको छ।

यसअघि प्रतिनिधिसभा विघटनका क्रमहरूमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले रिट दायर गरेका थिए, जसपछि सर्वोच्चले संसद् पुनर्स्थापना गरेको थियो।

एमालेले पनि यसपटक संसद् विघटन असंवैधानिक भएको आरोप लगाउँदै देशभर विरोध प्रदर्शन गरेको थियो। पार्टीले प्रधानमन्त्रीको नियुक्तिदेखि प्रतिनिधिसभा विघटनसम्मको सम्पूर्ण प्रक्रिया संविधानविपरीत रहेको दाबी गर्दै आएको छ।