मकवानपुर— मकवानपुरको भीमफेदी गाउँपालिका–५ ढुसिनीपुल नजिक खहरे खोलाको भीरबाट खसेकी एक १४ वर्षीया किशोरीको प्रहरी टोलीले उद्धार गरेको छ । 

मिति २०८२ मंसिर ८ गते साँझ छबेलीकी रजना स्याङ्तान करिब ५० मिटर तल खसेर खोल्सामा अड्किएपछि प्रहरी परिचालन गरिएको हो ।

उक्त दिन रजना स्याङ्तान घरबाट ‘छबेली बजार जान्छु’ भनी एक्लै हिँडेकी थिइन् । केही समयमै उनी अचानक भीरबाट तल खसेर बिच खोल्सामा अड्किएको स्थानीयबाट सूचना आएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो ।

प्रहरीले जोखिमपूर्ण स्थानबाट सावधानीपूर्वक उद्धार गरी रजनालाई भीमफेदी स्वास्थ्य चौकीमा प्राथमिक उपचारका लागि पु¥याएको थियो । त्यहाँबाट थप उपचारका लागि उनलाई हेटौडा अस्पताल पठाइएको मकवानपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए ।

प्रहरीका अनुसार उनको बाहिरी चोट नदेखिए पनि ढाडमा केही भित्री चोट लागेको प्रारम्भिक अनुमान छ । हाल अवस्था सामान्य रहेको र उपचारमा उनका पिता संलग्न रहेको बताइएको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब १ किलोमिटर पूर्वतर्फ र पीडितको घरबाट करिब २०० मिटर दूरीमा रहेको प्रहरीले जनाएको छ ।