जनकपुर । सप्ताहव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गतको पाँचौ दिन आज (सोमबार) मटकोर सम्पन्न भएको छ ।

जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा माता सीतको रुपमा रहेकी बालिकाको मटकोर विधि सम्पन्न भएको हो । मटकोरमा प्रयोग हुने माटोबाट सीता–राम विवाहका लागि मडवा (मण्डप) निर्माण गरिने चलन रहेको छ ।

मटकोर विधि हेर्न जनकपुरधामसहित भारतका विभिन्न स्थानहरुबाट आज हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भीड गंगा सागरको डिलमा पुगेको थियो ।

अब भोलि मंगलबार दिउँसो माता सीताको स्वयंवर हुनेछ भने भोलि राति नै वैवाहिक कार्यक्रम हुनेछ । भोली विवाहपञ्चमी महोत्सवको मुख्य दिन हो । त्यसपछि पर्सी बुधबार अन्तिम दिन अयोध्याबाट आएका बारातीहरुलाई ५६ ब्यन्जन खुवाएर दक्षिणसहित विदाई गरिने छ ।

विवाहपञ्चमी हेर्न हिजो बेलुकादेखि नै भारतबाट श्रद्धालुभक्तजनहरु जनकपुरधाम आउन थालेका छन् ।