काठमाडौं— काठमाडौँको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्कमा शनिवार एउटा शव भेटियो । अनुसन्धान अधिकृतहरूले सुरुमा शव तेस्रो लिंगीको भएको भनिए पनि सो शव महिलाको भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले प्रारम्भिक जाँच पश्चात् शव महिलाको भएको अनुसन्धान अधिकृतहरूलाई जानकारी गराएका छन् । पोस्टमार्टम रिपोर्ट भने आइसकेको छैन ।
सो महिलाको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका सूर्य मगर रहेको प्रहरीको भनाइ छ । शनिबार नयाँ बसपार्क नजिकैको सडकमा तन्नाले पोको पारेर फालिएको शवको पहिचान खुलाउने प्रयास भइरहेको छ ।
आरोपी सूर्य मगर बसपार्कस्थित एक होटलका भान्से हुन् । मृतक महिलालाई उनले ५ सय रुपैयाँ सापटी दिएका थिए । सो सापटी रकम फिर्ता माग्दा नदिएपछि ‘विवाद’ भएको र त्यसपछि उनले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार मृतकको घाँटी थिचेर सुर्यले हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनानएको छ ।






































