काठमाडौं— एमाले नेता महेश बस्नेतलाई रातो मसी छ्यापेर विरोध प्रदर्शन गर्ने युवाहरू छुटेका छन् । आइतबार विराटनगर विमानस्थल हुँदै इटहरीमा आयोजित युवा जागरण अभियानमा सहभागी हुन गइरहेका बस्नेतलाई एयरपोर्ट रोडमा सन्जोग गौतम र अर्पित कुँवरले रङ छ्यापेका थिए । 

घटनालगत्तै जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । उनीहरूलाई प्रहरीले आइतबार साँझ छाडेको डीएसपी कोपिला चुडालको भनाइ छ । 

विमानस्थलदेखि केही टाढा चिया पसलमा बसेका दुई युवामध्ये एक जना अकस्मात उठेर आएर बस्नेत सवार गाडीमाथि रङ छ्यापेका थिए । अर्का युवाले सो घटनाको भिडियो खिचिरहेका थिए ।

लोला प्रहार गर्ने युवा गौतम महेन्द्र मोरङ क्याम्पसको नेपाल विद्यार्थी संघको इकाई समिति सभापति हुन् । उनी शेखर कोइरालानिकट विद्यार्थी नेता हुन् । कुँवर पनि कांग्रे निकट विद्यार्थी संघमा आबद्ध रहेको बताइएको छ । तर, उनले टिकटकमार्फत आफू कुनै दलमा आबद्ध नभएको र भदौ २३ र २४ पछि जेन-जी आन्दोलनमा सहभागी बन्दै अएको जनाएका छन् ।