बारा— सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्यानलले ऐतिहासिक विजय हासिल गरेको छ। सोमबार बिहान ४ बजे सकिएको मतगणनाअनुसार ११ सदस्यीय कार्यसमितिका सबै पदमा रास्वपाका उम्मेदवार विजयी भएका हुन्।
तीन दशकदेखि एमाले नेतृत्वमा सञ्चालित सिमरा खानेपानीमा यसपटक पहिलोपटक एमालेको प्यानल पराजित भएको छ। नयाँ नेतृत्वमा अध्यक्ष युवराज न्यौपाने, उपाध्यक्ष हरिप्रसाद सिम्खडा, सचिव अमृत बस्याल, सहसचिव कृष्णकुमार रिमाल, कोषाध्यक्ष रामकुमार अर्याल रहेका छन्। महिला सदस्यमा दिलुमाया तामाङ र सुष्मा पण्डित तथा खुला सदस्यमा कल्पना कुमारी क्षेत्री, कृष्णकुमारी श्रेष्ठ, जागेश्वर पौडेल र सूर्यसिंह क्षेत्री चयन भएका छन्।
जीतपुर–सिमरा उपमहानगरपालिकाको वडा १ देखि ५ सम्मका करिब ५,५०० उपभोक्ता रहेको यस संस्थामा शनिबार भएको निर्वाचन अत्यन्त प्रतिस्पर्धात्मक थियो। एमाले, कांग्रेस, माओवादीसहित विभिन्न दलबाट मात्रै अध्यक्षमा ५ जनासहित ५२ जना उम्मेदवार उठेका थिए।
१६ वर्षसम्म एमाले नेता कासिम हुसेनको नेतृत्वमा संस्थाले पाँच वडामा आधा दर्जन बढी खानेपानी ट्यांकी निर्माण गरी उपभोक्तासम्म सहज रूपमा पानी पुर्याउँदै आएको थियो। झण्डै ४ करोड रुपैयाँ मौज्दात रकम रहेको संस्थाको नेतृत्वका लागि यसपालि धेरैले चासो देखाएका थिए।
सिमरा कलेजका पूर्व प्रमुख सुमन भट्टराईका अनुसार जेष्ठ उमेरका मतदाताले समेत नेतृत्व परिवर्तनको चाहना गरेका कारण नयाँ अनुहार विजयी भएका हुन्। उनका अनुसार, “बुढापाका मतदाताले पनि अब नयाँ नेतृत्व खोजेका छन्। सफल संस्थाको जिम्मेवारी पाउनु विजयी टोलीका लागि अवसर र चुनौती दुवै हो।”
घरधनी नाममा धारा जडान भएकाले मतदाता अधिकतर पाका उमेरका व्यक्तिहरू रहे पनि परिणामले आगामी स्थानीयदेखि संघीय तहसम्मका चुनावमा पनि नयाँ संकेत दिएको भट्टराईको बुझाइ छ।






































